असार १६ गते । मंगलबार रातीदेखी परेको वर्षाको कारण डुम्रे–वेशीसहर सडक खन्ड अन्तर्गतको भानु नपा १ को भन्सार नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । तनहँुको डुम्रेबाट लमजुङको वेसीशहर जाने उक्त सडक पहिरोको कारण अवरुद्ध भएको हो ।
सो सडकको भानु नपा १ को रमाईलो डाँडा र अँधेरीखोला पहिरो खस्दा सो सडक दुई तर्फी नै अवरुद्ध भएको छ । विहान रमाईलो डाँडामा खसेको पहिरो पन्छाएर नसक्दै मध्यान्न पछि अँधेरी खोला भन्ने स्थानमा पुनः पहिरो खसेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका इन्चार्ज प्रहरी निरिक्षक प्रकाश भुषालले बताउनुभयो ।
सडक विभागको भानुमा रहेको यान्त्रिक कार्यालयको दुई वटा जेसीभीले पहिरो हटाई रहेको र साँझसम्म सबै पहिरो हटाई सवारी सुचारु गर्न सकिने भुषालले बताउनुभयो ।
लामो समयसम्म यातयात अवरुद्ध भएपछि साना सवारी साधनलाई भन्सारबाट नारेश्वरटार हुँदै मनकामना सशस्त्र प्रहरी गणको पछाडीपट्टिको कच्ची सडकबाट खहेर निस्कने बैकल्पिक सडक प्रयोग गराईएको भुषालले जानकारी दिनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.