काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधान दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक निर्माणको गतिमा आएको ढिलाइले अवस्था झन् कमजोर बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजनाले औँल्याएको छ । कार्ययोजना निर्माण कार्यदलका संयोजक महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल करिडोर क्षेत्रका सडक र अन्य सडक निर्माणको ढिलासुस्ती, सडक छेउमा मापदण्डविपरीत रहेका ग्यारेज, पेट्रोलपम्प, वर्कशप, उचित पार्किङस्थलको अभाव, सचेतनाको अभाव, प्रविधिको प्रयोग हुन नसक्नुलगायत कारणले समस्या बल्झिरहेको बताउनुहुन्छ । उहाँका अनुसार समयसापेक्ष कानूनको सुधार हुन नसक्नु, दक्ष चालकको अभाव, सम्बद्ध निकायबीच प्रभावकारी समन्वय र सहकार्यको अभाव हुनुलगायत कारणले पनि उपत्यकाको ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै आएको अध्ययनमा पाइएको छ । पछिल्लो समयमा ट्रफिक प्रहरीकै प्रयासमा भइरहेका संरचनामा आवश्यक व्यवस्थापन र प्रविधिमैत्री बनाउँदै लगेको समेत उहाँले जानकारी दिनुभयो । पछिल्ला केही वर्षमा उपत्यकाको ट्राफिक व्यवस्थापनमा सकारात्मक काम नभएका होइनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न योजना बनाई कार्यान्वयन गरेकाले सकारात्मक सुधार भएको छ । खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीकै निर्देशन चाहिने अवस्थाबाट माथि उठेर अहिले एकाधबाहेक त्यस्ता समस्या छैन । धुलाम्मे हुने काठमाडौँका सडक केही निश्चित ठाउँमा बाहेक अहिले धुलो देखिँदैन । हाल व्यवस्थापन भएको सडकका मुख्य सडक क्षेत्र चिल्ला र सडक सङ्केतयुक्त पाइन्छ तर यतिले मात्रै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बन्ने अवस्था छैन । सवारीको अत्याधिक चाप, साँघुरा सडक, चोकगल्लीको उचित व्यवस्थापन नहुँदा सवारी आवागमनमा अवरोध सिर्जना भइरहेकै छ ।
यातायातमा जोरबिजोर प्रणाली लागू हुँदा पनि सवारी जाम नरोकिँदा त्यसको उचित व्यवस्थापनको टड्कारो आवश्यकता ठानी गृह मन्त्रालयले एकीकृत कार्यायोजना बनाएर लागू गर्ने प्रक्रिया अघि बढाएको हो । त्यही सिलसिलामा प्रवउ ढकालको संयोजकत्वमा गत साउनमा गठन भएको छ सदस्यीय कार्यदलले ‘उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजना २०७७’ बनाई गृह मन्त्रालयमा बुझाएको छ । कार्ययोजनाले तत्कालीन र दीर्घकालीन गर्नुपर्ने कामलाई बुँदागतरूपमा औँल्याएको छ ।
उक्त कार्ययोजना उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महत्वपूर्ण भएकाले उच्च प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने गृहमन्त्री रामबहादुर थापा बताउनुहुन्छ । कार्यान्वयनमा लैजानका लागि गृहको प्रयास मात्रैले पुग्दैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्थानीय तहका साथै सम्बद्ध निकायको समन्वय आवश्यक छ । उक्त कार्ययोजना सबै निकायसँगको सहकार्यमा बनेकाले अबको प्रयास एकीकृतरूपमै जाने विश्वास मन्त्रालयको छ । गृहसचिव महेश्वर न्यौपानेले केही अपुग भएका विषय समेटेर कार्ययोजना लागू गर्नुको विकल्प नभएको बताउनुभयो ।