चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत फेला परेको छ । निकुञ्जका अनुसार निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत लौखानीमा पोथी माउ गैंडा र बच्चा फेला परेको हो । बुधबार दिउँसो साढे १ बजे गस्ती गर्ने क्रममा माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।
“भदौमा गोली लागेर मरेको गैंडा र यी दुई गैंडाको मृत्युको प्रकृति एउटै छ,” बरालले भने, “माउ गैंडाको खाग नभएकोले तस्करले लगेको आंशका छ ।” चालु आर्थिक वर्षको भदौमा सोही स्थानमा तस्करको गोली लागेको अवस्थामा एउटा गैंडा मृत फेला परेको थियो । यो आर्थिक वर्षमा मात्रै ११ वटा गैंडाको मृत्यु भइसकेको छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ गैंडा छन भने नेपालमा कुल ६४५ गैंडा रहेको तथ्यांक छ ।