स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदूरका लागि सञ्चयकोष स्थापना गरेको छ ।
पालिकाभित्र ज्यालादारी काम गर्ने न्यूनआय भएकालाई सूचीकृत गरी कामका आधारमा सञ्चयकोष मार्फत रकम उपलब्ध गराईने भएको हो । गाउँपालिकाको बैठकले पालिकाको मजदूर सञ्चय कोष कार्यविधि, २०७७ पारित गरी लागू गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।
दैनिक ८०० देखि एक हजार ५०० सम्म आम्दानी गरे तापनि बचत गर्ने बानीको विकास नभएकै कारण श्रमिक वर्ग अप्ठ्यारोमा पर्ने गरेकाल अप्ठ्यारो परेका बेला काम लाग्ने गरी बचतमा जोड दिन सञ्चयकोषको स्थापना गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
पालिकाभित्रका १८ देखि ५९ वर्ष उमेर समूहका ज्याला, मजदूरी गर्ने विपन्न मजदूरलाई लक्षित गरी सञ्चयकोष स्थापना गरिएको जनाइएको छ ।
गाउँपालिकाले पालिकाभित्रका विपन्न मजदूरहरुलाई आ–आफ्नो वडामा सूचीकृत हुन सूचना जारी गरेको छ । पालिकाले चालु आर्थिक वर्षमा सार्वजनिक विकास निर्माणका काममा मजदूरलाई संलग्न गराई उनीहरुको नाममा बैंकमा खाता खोल्ने र सोही खातामा उनीहरुको ज्याला रकमबाट १५ प्रतिशत र पालिकाबाट १५ प्रतिशत सञ्चय कोषमा जम्मा गरिदिने व्यवस्था मिलाइएको अध्यक्ष सुवेदीले बताउनुभयो ।